जीवन के हो?

 

प्रस्तोता– धन्यवाद। हामी आजको बसाईँमा चाहिँ अन्तर्वार्ताभन्दा पनि स्वामीज्यूबाट केही राम्रा कुराहरू लिऊँ भन्ने, जीवनमा त्यसलाई एप्लाई गरौं भन्ने खालको एउटा कार्यक्रमको आयोजना गरिराखेका छौं। हामीले यहाँलाई प्रथममा के सोध्न चाहेँ भन्दाखेरि धेरैजना व्यक्तिको अथवा धेरैजना यहाँजस्ता व्यक्तिहरूको, साधुहरूको अथवा सन्न्यासीहरूको अथवा महाराजहरूको चाहिँ केके सुन्न सकिन्छ जीवनलाई लिएर, एउटा छुट्टै खालको एउटा वर्णन सुन्न सकिन्छ। जस्तै यहाँको आफ्नो यहाँको विचारमा, यहाँले सिकेको अथवा यहाँले आजसम्म बुझेको आधारमा जीवन चाहिँ के रहेछ खास? 

स्वामीजी– हेर्नुस्! जीवनको बारेमा यदि एकदम छोटो परिभाषा दियौं भने, जीवन भनेको आनन्दको खोजी हो। जसरी पानी निरन्तर बगिरहन्छ, हामी देख्छौँ। केको निम्ति बग्छ? आफ्नो जुन स्रोत हो– समुद्र, त्यसतिर जानको लागि निरन्तर प्रयत्न गर्छ, सङ्घर्ष गर्छ। कहाँ हिमालदेखि कन्दरा, पहाड, फेरि नदी नाला हुँदै बगिरहन्छ। त्यसैगरि यो हाम्रो जुन जीवन हो, यो जीवनमा पनि हामीले हाम्रो स्रोत आनन्दलाई खोजिरहेका छौँ। शास्त्रमा बताइएको छ–

सुखाय कर्माणि करोति लोको। भागवत ३–५–२

वेदव्यासजी भागवतमा भन्नुहुन्छ– सबैजना संसारमा सुखको निम्ति नै प्रयत्नशील छन्। सुखलाई खोजिरहेका छन्। र केवल कार्य मात्रै होईन, 

सुखाय दु:खमोक्षाय सङ्कल्प इह कर्मिण:। भागवत ७–७–४२

अर्थात्, सोचाइ पनि। जुन हामी निरन्तर सोचिरहन्छौँ, त्यो पनि सुखको निम्ति नै सोच्दछौं। चाहे कोही नास्तिक होस्, चाहे आस्तिक होस्, धनी, गरिब, एउटा चोर होला, अर्को पुलिस होला, सबैजना केवल आनन्द कै निम्ति, आनन्दकै निम्ति निरन्तर प्रयत्नशील छन्। र यस्तो आनन्दको बारेमा वेदमा बताइएको छ कि ‘अनन्त सुख’ हुन्छ।

यो वै भूमा तत्सुखं। छान्दोग्योपनिषद् ७–२३–१

छान्दोग्योपनिषद्को मन्त्र हो यो। अर्थात्, त्यो जुन वास्तविक सुख, हामी सबै चाहन्छौँ, त्यो अनन्त मात्राको छ। यसको लागि कुनै वास्तवमा वेद शास्त्रको पनि प्रमाण चाहिँदैन। यादि हामीले सोच्यौँ, ‘‘म कस्तो सुख चाहन्छु–  सिमित कि असिमित?’’ भन्नासाथ उत्तर आउँछ– ‘‘‍असिमित सुख चाहन्छु।’’ त्यसैगरी बढ्दै जाओस्, हामी यो चाहन्छौं।

गुणरहितं कामनारहितं प्रतिक्षणवर्धमानम्। नारद भक्ति सूत्र ५४

देवर्षि नारदजीले बताउनुभयो कि हामी प्रतिक्षण बढ्दै जाने आनन्द चाहन्छौँ। र–

सदा पश्यन्ति सूरयः तद्विष्णोः परमं पदम्। सुबालोपनिषद् ६–७

वेद भन्दछ। सुबालोपनिषद्को मन्त्र हो यो। अर्थात् सँधै रहिरहने आनन्द चाहन्छौं।

यस्तो अनन्त मात्राको, प्रतिक्षण बढ्दै जाने र सधैँ रहिरहने आनन्दको निम्ति हामी निरन्तर प्रयत्नशील छौं। र केवल कुनै एउटा डिग्री प्राप्त गारिसकेपछि अनि आनन्द चाहने यस्तो होइन। जन्मनासाथ हामीले सुखको निम्ति नारा लगायौँ। जुन जन्मँदाखेरि कष्ट हुन्छ, हामी त्यो कष्ट चाहँदैनौं र त्यो दुखलाई रोएर प्रकट गरेर यही भन्छौँ कि मलाई यो दुःख चाहिँदैन। म आनन्द चाहन्छु। र केवल मनुष्य मात्र होइन, पशुपक्षी, कीट, पतङ्ग सबै आनन्द नै चाहन्छन्। यसमा कुनै पनि अपवाद छैन। त्यसैले जीवनको यदि सबैभन्दा सुन्दर, सबैभन्दा सटीक परिभाषा एउटा केही हुन सक्छ भने त्यो यही हो– जीवन भनेको आनन्दको खोजी हो।


Post a Comment (0)
Previous Post Next Post