परिचय–


प्रस्तोता– दर्शकवृन्द नमस्कार। ‘पञ्चली वहस’मा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता राजु थापा। ‘पञ्चली वहस’मा हामी योभन्दा अघिल्लो इपिसोड (भाग)सम्म विभिन्न व्यक्तित्वहरूसँग कुरा गर्दै आइरहेका छौं। हामीलाई यहाँले माया र साथ दिइरहनुभएको छ। दर्शनवृन्द! आजको बसाइ हामी थोरै पृथक रूपबाट यहाँहरूमाझ प्रस्तुत गर्दे कोशिसमा छौं। कृपया हामीलाई साथ दिनुहोला। 
दर्शकवृन्द! हामी यस कार्यक्रममा विशेष त राजनीति, समाजसेवा र स्थानीय राजनीतिको विषयमा यहाँहरू माझ कुराकानी गर्दै आइरहेका थियौं। तर आज हामी थोरै अलग ढङ्गबाट कुराकानीको लागि हामी ‘स्वामी श्री रामदासज्यू’सँग ‘टिभी पञ्चली ८ के’को काठमाडौंस्थित स्टुडियोमा छौं। आज हामी उहाँलाई अध्यात्म, भक्ति, दर्शन लगायतको सनातन धर्मको विषयमा कुराकानी गर्ने प्रयासमा छौं। कृपया हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन अनुरोध छ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
 
स्वामीजी– धन्यवाद।

प्रस्तोता– हामी यहाँको अन्य विषयमा त विस्तारै प्रवेश गरि नै हाल्छौं हैन। शुरुमा स्वामीजीको परिचयबाट जाऊँ न थोरै।

स्वामीजी– हेर्नुस्! म एउटा साधक हुँ। र साधकको परिचय गुरुसँग सम्बन्धित हुन्छ। यदि अर्जुनलाई कसैले अर्जुनको परिचय सोधे भने अर्जुनले भन्छन्, ‘म द्रोणशिष्य अर्जुन हुँ।’ त्यसैले मेरो गुरुदेव श्री श्री घनश्यामदासजी महाराज हुनुहुन्छ जो जगद्गुरु श्री कृपालु जी महाराजका सुपुत्र हुनुहुन्छ। त्यसैले म जगद्गुरु श्री कृपालु जी महाराज र श्री श्री घनश्यामदासजी महाराज, उहाँलाई सर्वप्रथम प्रणाम गर्न चाहन्छु। र, मेरो दोस्रो परिचय भनेको एउटा सन्न्यासी हुँ।

सन्न्यासी अनेक प्रकारका हुन्छन्। जुन हाम्रो वेदशास्त्रमा सन्न्यासीहरूको निरुपण छ, त्यसमा कठिन नियमहरू छन्, जसको पालना कलियुगमा सम्भव छैन। तर कतिपय साधकहरूलाई, जो योग्य छन्, उनीहरूलाई वास्तविक महापुरुषले भगवान्को सेवाकोनिमित्त संसारी जतिपनि कामहरू छन्, ती कामहरूलाई छोडेर जीवन समर्पण गर्ने आज्ञा दिनुहुन्छ। त्यसमा जुन वेदशास्त्रमा भएका कठिन नियमहरूलाई उहाँले क्षमा गरिदिनुहुन्छ। र त्यो सन्न्यासीको एकमात्र कर्तव्य भनेको गुरुको आदेश अनुसार भगवान्को सेवा गर्नु हो। र म त्यही प्रकारको सन्न्यासी हुँ। र भक्ति, सनातन धर्म भक्ति मार्ग को प्रचार गरिरहेको छु। यही नै मेरो संक्षिप्त परिचय हो।

Post a Comment (0)
Previous Post Next Post