प्रस्तोता– स्वामीजीलाई अर्को प्रश्न के भन्दाखेरि, स्वामीजीले हामीलाई आफ्नो परिचयको क्रममा र पछि कुरा गर्ने क्रममा
भन्नुभयो विज्ञानको विद्यार्थी थिएँ म, पछि व्यवस्थापनको
विद्यार्थी भएँ र पछि अध्यात्ममा लागेँ भन्नुभयो होइन?
स्वामीजी– हजुर।
प्रस्तोता– जस्तै त्यो विज्ञानको विद्यार्थी हुँदै गर्दाखेरि, त्यो त फरक पाटो छ नि। जस्तै विज्ञानले त
अध्यात्मलाई अलिकति स्वीकार नगरेको अवस्था देखिन्छ। किनकि त फिजिक्स भौतिक शास्त्र
भयो, यो अध्यात्म भयो हैन। जस्तै त्यहाँबाट यहाँसम्म चाहिँ
कसरी आउनुभयो? जस्तै त्यो यात्रा कस्तो रह्यो? जस्तै विज्ञानबाट भौतिक शास्त्रको विद्यार्थी, व्यवस्थापनको
विद्यार्थी अध्यात्मतर्फ कसरी आकर्षित हुनुभयो?
स्वामीजी– यस्तो हो। अब,
विज्ञानको र अध्यात्मवादको एक प्रकारले झगडा छ, भौतिकवाद र अध्यात्मवादको बीचमा एकप्रकारले द्वन्द्व छ।
प्रस्तोता– एकले अर्कालाई न स्वीकारेको अवस्था छ।
स्वामीजी– जस्तै भौतिकवादीहरूको मत अनुसार यो जति पनि संसार हो, यही परमसत्य हो, जे जे छ यही नै हो। अध्यात्मवाद बेकारको चिज हो, अन्धविश्वास हो, रुढिवाद हो। यो उनीहरू आक्षेप लगाउँछन्, भौतिकवादीहरू। अध्यात्मवादीहरू भौतिकवाद बेकारको हो। परमलक्ष्य या परमशान्ति त अध्यात्मबाट नै मिल्छ, यो भन्छन्।
तर वास्तवमा दुवैको समन्वय जरुरी छ। किनकि हामी शरीर पनि हौं। मेरो
शरीर छ, मसँग एउटा शरीर
छ। त्यो त भौतिक वस्तुहरूबाट नै बनेको हो। त्यसैगरी म आत्मा हुँ। शरीरको निम्ति
भौतिकवाद आवश्यक पर्छ। भोजन गर्नै पर्छ चाहे कोही सन्त नै किन नहोस्। यही संसारमा
नै रहनुपर्छ। यसैको हावा लिनुपर्छ। यसैको पानी पिउनुपर्छ। त्यसैले भौतिकवाद पनि
आवश्यक छ। र अध्यात्मवाद पनि आवश्यक छ। किनकि केवल भौतिक उन्नतिद्वारा
व्यक्तिहरूले भित्री शान्ति, भित्री सुखको महसुस नै गर्न
सक्दैनन्। हामी विकसित देशहरू अमेरिका इत्यादिलाई हेर्यौँ भने त्यहाँ मानसिक
रोगीहरूको सङ्ख्या हाम्रो नेपालमाभन्दा पनि बढी छ। त्यहाँ व्यक्तिहरू अशान्त छन्,
डिप्रेशनमा छन्। त्यहाँपनि व्यक्तिहरूमा भय छ, डर छ, त्रास छ, ईर्ष्या छ। यदि
भौतिक विकाशबाट नै सुख शान्ति मिल्ने भएको भए त्यहाँका व्यक्तिहरू त एकदम परमसुखी
हुनु पर्ने।
त्यसैले अध्यात्मवादको पनि आवश्यकता पर्छ र भौतिकवादको पनि
आवश्यकता पर्छ र हाम्रो सनातन धर्ममा दुवैको स्थान छ। अन्य जुन जस्तो क्रिस्चियन
धर्म हुन् या इस्लाम धर्म, त्यसको इतिहास हामीले हेर्यौँ भने इतिहास कालखण्डमा कुनै बेला चर्चको
साम्राज्य थियो। त्यतिबेला कुनै वैज्ञानिकले सूर्यको बारेमा, पृथ्विको बारेमा उनीहरूको एकआपसमा यसरी घुम्छ भनेर जुन बाइबलको एगेन्स्टमा
(विरुद्ध) कसैले बोल्यो भने उनीहरूलाई मृत्युदन्ड पनि दिइयो। अर्थात् भौतिकवादले
आध्यात्मिक सत्ता भइन्जेल स्थान पाएन। र अहिले भौतिकवादको सत्ता छ, त्यसैले अध्यात्मको स्थान छैन। तर हाम्रो सनातन धर्ममा पहिल्यैदेखि नै
अध्यात्मवादको पनि, भौतिकवादको पनि समान स्थान छ। हाम्रोमा त
भौतिकवादको सबैभन्दा टप फिलोसोफी (श्रेष्ठ दर्शन) चार्वाक दर्शनलाई दर्शनको
स्थानमा राखेर एउटा आदर गरिन्छ।
त्यसैले दुवैको स्थान छ। र म सौभाग्यशाली यस अर्थमा भएँ कि मैले
भौतिकशास्त्रको एउटा कलेज लाइफमा पनि अध्ययन गरेँ। त्यसबाट चाहिँ मलाई के फाइदा
भयो भने यो भौतिकवादमा जुन हामी फिजिक्स् (भौतिकशास्त्र) या साइन्स (विज्ञान)
भन्छौँ, त्यो साइन्स
(विज्ञान) कतिपय विषयहरूमा अहिले पनि असाध्यै अपूर्ण र खोक्लो छ।
जस्तै यो सम्पूर्ण संसारको सृष्टि कसरी भयो? अनेक प्रकारका ग्रहहरू, यो पृथ्वी कसरी बन्यो? जीवनको उत्पत्ति कसरी भयो? मनुष्य कसरी उत्पन्न भए? हाम्रो यो मानव सभ्यताको गन्तव्य के हुनुपर्छ? हामी के चाहन्छौँ? यी विषयहरूका बारेमा चाहे साइन्स (विज्ञान) भनौँ या फिजिक्स (भौतिकशास्त्र) भनौँ, त्यो असाध्यै अपूर्ण छ। तर यिनै प्रश्नहरू लिएर जब मैले अध्यात्मवादमा रिसर्च (अनुसन्धान) गरेँ, पढेँ, खोजी गरेँ त्यहाँ यसको जुन उत्तर छ, या यसलाई जसरी सम्बोधन गरिएको छ, त्यो असाध्यै वैज्ञानिक छ, साइन्टिफिक छ। त्यसैले विज्ञान विषय पढेको हुनाले यो जुन डिफिरेन्स (भिन्नता) हो, यो म अनुभव गर्न सक्छु। यदि त्यसको अध्ययन नगरेको भए मलाई यो डाउट (सन्देह) हुन सक्थ्यो कि के थाहा साइन्स(विज्ञान)सँग बेटर एन्सर (राम्रो उत्तर) छ कि? कुनै पनि टोपिक (विषय)मा निष्कर्षमा पुग्नलाई त दुवै पक्षको कुरा सुन्यो भने बल्ल एउटा डिसिजन (निर्णय), पक्का डिसिजन हुन्छ।
त्यसैले आँफूलाई म सौभाग्यशाली पनि ठान्छु कि मैले साइन्स (विज्ञान) पढेको थिएँ कुनै बेला, त्यसले गर्दा जे मैले अहिले निश्चय गरेको छु, त्यो अन्तिम निश्चय हो।