कोही अध्यात्ममा कसरी लाग्छ?

प्रस्तोता– धन्यवाद। आनन्दको खोजी भन्दै गर्दाखेरि आजको पुस्ताहरू हाम्रो एज (उमेर) को अथवा स्वामीजीकै एजका पनि पुस्ताहरूले आनन्दको  खोजीमा कतिपयले चाहिँ कूलतमा लाग्ने, नराम्रा गतिबिधिहरू गर्ने, जस्ट केही समयको क्षणिक आनन्दको लागि, त्यो क्षणिक लाभको लागि, हैन।
जस्तै यहाँ पनि युवा हुनुहुन्छ। अथवा निकै कलिलो उमेरकै हुनुहुन्छ।  हामीले अरू स्वामी देख्दाभन्दा यहाँको उमेर अलि कलिलो देखिन्छ। म गलत छैन भने स्वामीज्यू। होइन? जस्तै सबैको लाइफमा एउटा टर्निङ्ग पोइन्ट (आमूल परिवर्तको कारण) हुन्छ नि त। जस्तै, मेरो जीवनमा एउटा टर्निङ्ग पोइन्ट होला र  म एउटा सेक्टर (क्षेत्र)बाट अर्को सेक्टरमा पुगेँ होला। स्वामीजीको पनि त्यही भएर त स्वामीज्यू अध्यात्ममा आउनुभयो होला हैन? जस्तै यहाँको लाइफमा चाहिँ के टर्निङ्ग पोइन्ट रह्यो र यहाँ अध्यात्मप्रति आकर्षित हुनुभयो अथवा यो क्षेत्रमा लाग्नुभयो?

स्वामीजी– यो प्रश्न प्रायः सँधै सोधिन्छ र सबैले केही न केही कथा सुनाउनुहुन्छ, आफ्नो जीवनको। र इतिहास हेर्दा खेरि पनि वाल्मीकिजीको जीवनी पढौं, अथवा तुलासीदासजी महाराजको जीवनी पढौं, अथवा भर्तृहरिजी महाराजको जीवनी पढौं, सबैको जीवनीमा केही न केही टर्निङ्ग पोइन्ट छ। र जतिपनि टर्निङ्ग पोइन्टहरू छन्, ती टर्निङ्ग पोइन्टहरू संसारको स्वरूपको बारेमा छन्। 

जस्तै, भर्तृहरिजी महाराज उहाँलाई यो लाग्यो कि संसारमा सबै स्वार्थी रहेछन्। जसलाई म प्राणभन्दा पनि बढी प्रेम गर्छु, मेरी श्रीमती, ऊ अर्कैमा आशक्त रहिछे। त्यसैगरी वाल्मीकिजीलाई पनि यही लाग्यो– संसारमा सबै स्वार्थी छन्। परीक्षित्जी महाराजलाई  यही लाग्यो कि संसारी सुखको जुन भोग, अहिले मैले गरिरहेको छु राजा बनेर, यो त अब सातदिनमा नै मबाट खोसिने रहेछ। 

अर्थात् संसारी जुन सुख, अघि जुन हजुरले प्रश्न सोध्दाखेरि भूमिकामा  बताउनुभयो– क्षणिक सुख। संसारी सुख क्षणिक हुन्छ। जुन अघि मैले बताएँ, हामी अनन्त सुख चाहन्छौँ, प्रतिक्षण बढ्दै जाने सुख चाहन्छौँ, सधैँ रहिरहने सुख चाहन्छौँ। तर संसारमा अहिलेसम्म हामीलाई मिलेको सुख यसको विपरीत छ। सीमित सुख छ, घट्दै जान्छ, समाप्त हुन्छ। र यो चिज जुन दिन बोध हुन्छ...। जस्तै सुन्न त भर्खरै मैले बताएँ, हजुरले सुन्नभयो, यहाँ दर्शकहरूले, श्रोताहरूले पनि सुन्नुभयो; सुन्नु एउटा चिज हो, तर त्यही चिज बोध हुनु यो अर्कै चिज हो। 

जस्तै सिद्धार्थ गौतमजी घरबाट निस्कनु भयो, दरबारबाट। उहाँले देख्नुभयो व्यक्तिहरू बुढा हुँदा रहेछन्। अर्थात् म पनि एकदिन बुढो हुनुपर्छ। रोगी हुँदा रहेछन्, मर्दा रहेछन्। उहाँले जस्ट (केवल) एकपटक देख्नुभयो। देख्नासाथ त्यसको चिन्तन मनन भयो, उहाँलाई बोध भयो कि यो संसारी सुख अनित्य रहेछ। र नित्य सुख ‘‘म त सँधै रहिरहने सुख चाहन्छु, त्यो कसरी मिल्छ?’’ त्यसको खोजी गर्नुभयो, उहाँले। 

त्यसैले व्यक्तिहरू जुन यो घटना बताउँछन् कि यो घटनाले गर्दा मेरो  जीवनमा परिवर्तन भयो। एकप्रकारले सत्य नै हो तर परम सत्य त्यो होइन। किनकि यदि घटना कारण भएको भए त, त्यो घटना त हामी सबैसँग घटेको छ। मैले पनि देखेको छु– व्यक्तिहरू बुढो भएको, मरेको, रोगी भएको। हजुरले पनि देख्नुभएको छ, अर्कोले पनि देखेको छ। तर हामी सबै त बुद्ध बनेनौँ। त्यसैले जुन यो टर्निङ्ग देख्छौँ हामी, अथवा कोही अध्यात्ममा लागेको देख्छौँ, शास्त्रमा यसको निम्ति बताईएको छ–

जन्मान्तरसहस्राणि तपोज्ञानसमाधिभिः।

नराणां क्षीणपापानां कृष्णे भक्तिः प्रजायते॥ विष्णुधर्म

अर्थात्, कयौँ जन्म, पूर्वजन्महरूको साधना, ज्ञान, तपश्चर्याको कारणले गर्दा, त्यो पूर्वजन्मको संस्कार अनुसार एउटा व्यक्ति आध्यात्मिक क्षेत्रमा चल्छ, श्रीकृष्णको भक्ति गर्छ र त्यही पूर्वजन्मको संस्कार थियो होला, म सानो हुँदाखेरी नै मैले सत्सङ्गको वातावरण पाएँ। 

मेरो हजुरबुबा हुनुहुन्छ, वैष्णव। उहाँसँग म घरघरमा जुन सत्सङ्ग हुन्छ, त्यहाँ जाने गर्थें। त्यसपछि कक्षा ११, इलाभेन क्लास पढ्दै थिएँ। त्यतिबेला जगद्गुरु श्री कृपालु जी महाराजका एकजना प्रचारकको मैले प्रवचन सुनें। र वेद शास्त्रको त्यो सिद्धान्त सुनेपछि, मलाई लाग्यो कि परमसत्य यसैमा छ। म सत्सङ्ग आउने–जाने  गर्थें। पढाइपनि मेरो कम्प्लिट (पुरा) भयो। ब्याचलर (स्नातक) मैले फिजिक्स (भौतिकशास्त्र)मा गरें, मास्टर्स (स्नातकोत्तर) म्यानेजमेन्ट (व्यवस्थापन)मा गरें। त्यसपछि आफ्नो सानोतिनो व्यवसाय जे छ, त्यो गर्दै थिएँ। 

अचानक गुरुदेवको आज्ञा भयो कि सनातन धर्मको प्रचार गर्नुछ। २०७४ रामनवमीमा उहाँले आज्ञा दिनुभयो। मैले बताएँ कि ‘‘मैले संस्कृत पढ्या छैन। म कसरी प्रवचन दिन सक्छु?” 

उहाँले भन्नुभयो कि गएर प्रवचन दिनु, तिमीलाई सब आउँछ। 

त्यसैले उहाँको कृपाद्वारा फेरि सनातन धर्म प्रचारको यो जुन अभियान हो, त्यो शुरु भयो। 

त्यसैले मेरो जीवनमा कुनै यस्तो एउटा टर्निङ्ग पोइन्ट छैन कि– म कहीँ गएको थिएँ। त्यहाँ यस्तो देखें। त्यो देखेर एकदम चिन्तन मनन भयो। संसारमा सुख छैन्। संसारी जति धन, पद, प्रतिष्ठा भए पनि त्यसबाट सुख मिल्दैन। यस्तो केही भएन।

एउटा स्वभाविक रूपमा सायद पूर्वजन्म कै संस्कार होला त्यसले गर्दा (मन) यतातिर आकर्षित भयो र जुन गुरुदेवको आज्ञा हो त्यो पालना गर्न मैले सकेँ। त्यो पूर्वजन्म कै कुनै संस्कार होला। अन्यथा व्यक्तिहरू जुन संसारी एउटा..., अनेक आकर्षण छ यसमा पनि, त्यसलाई छाडेर गुरुले भन्नुभयो भन्दैमा आध्यात्मिक क्षेत्रमा हिँड्नको लागि त सबैलाई सम्भव छैन। त्यसैले यसको निम्ति पक्कै पूर्वजन्मको नै कुनै संस्कार हुनुपर्छ।

Post a Comment (0)
Previous Post Next Post