प्रस्तोता– अहिलेचाहिँ के देखिन्छ एउटा भन्दाखेरि एउटा सायद
हामीजस्ता मान्छेहरूमा भ्रम पनि हुन सक्छ त्यो, त्यसलाई
स्वामीजीले खण्डन गरिदिनुहोला। जस्तै पैसा हुने
व्यक्ति चाहिँ सुखी जस्तो देखिन्छ के अहिले। त्यसले विलासिता सम्बन्धि साधनहरू
खरिद गर्न सकिन्छ र त्योबाट आनन्द प्राप्त गर्न सकिने रहेछ भनेपछि पैसा इज इक्यल
टु (बराबर) आनन्द। अनि पैसा नहुने गरिबहरू अथवा जो हुँदाखाँदा खाले व्यक्तिहरू
हुन्छन् नि, तिनीहरू चाहिँ पैसासँगै..., पैसा नभएरै गरिब भएको, दुःखी भएको देखिन्छ के। र
पैसा र यो आनन्दको काहिँ कनेक्टेड (सम्बन्धित) छ जस्तो यहाँलाई कि लाग्दैन खास?
अथवा यसमा प्रकाश पारिदिनु न हामीलाई।
स्वामीजी– यस्तो हो हेर्नुस्! पैसा सुख पनि होइन। यदि मानिलिनुहोस्, पैसा नै परम लक्ष्य भएको भए व्यक्तिले पैसा खर्च
गर्दैनथ्यो। ध्यान दिनुहोस् है। पैसा एउटा साधन हो। पैसाद्वारा अरू विभिन्न वस्तु
आउँछ, त्यो वस्तुद्वारा सुख मिल्छ। यो हो नि त। लक्ष्य त सुख
हो। माध्यम पैसा छ। अहिले पैसा भयो भने भौतिक सामानहरू निकै जोड मतलब भोग गर्न
मिल्छ। त्यसबाट सुख मिल्छ भन्ने प्रायःलाई लाग्छ र यो लाग्नु स्वाभाविक हो। किन स्वाभाविक
हो भने हाम्रो जुन चेतनाको स्तर। हरेक व्यक्तिले आफ्नो चेतनाको स्तर अनुसार नै
सोच्दछ, डिसिजन (निर्णय) लिन्छ, कार्य
गर्छ। हैन? हाम्रो अहिलेको चेतनाको स्तर के छ भने हामीले
आँफूले आँफूलाई शरीर ठानेका छौँ।
जस्तो परिचय दिँदाखेरि पनि पहिला हामी के भन्छौँ? मेरो नाम हो भन्छौँ। नाम त ‘मेरो नाम’ हो,
‘म’ त नाम होइन। जे मेरो हो त्यो म हुन सक्दैन। यो अहिले मैले
दर्शनशास्त्रको कुरा गर्दैछु, जटिल हो, तर म सरल ढङ्गले सम्झाउँदैछु। जे मेरो हो, त्यो म
होइन। अर्थात् नाम ‘मेरो नाम’ हो यसको मतलब ‘म’ नामभन्दा भिन्न अर्को एउटा केही
वस्तु हुँ नि त। जस्तै हामी मेरो घर भन्छौँ, घर त म होइन।
त्यो त मेरो हो। त्यसैगरी मेरो आँखा, मेरो नाक, मेरो कान, मेरो शरीर अर्थात् म न त आँखा हुँ,
न कान हुँ, न शरीर हुँ। त्यसैले वास्तवमा म यो
शरीर होइन। तर हामीले अहिले के मानेका छौँ भने, म अहिले यही
शरीर, इन्द्रिय या जे जे यो संरचनाको एउटा संयोजन हो,
त्यसलाई म ठानिरहेका छौँ। त्यसले गर्दा के हुन्छ भने यो शरीरसँग
सम्बन्धित विषयलाई मेरो ठान्दछौँ।
जस्तै आँफूलाई मैले शरीर मानेकोले यो शरीरको पितालाई मैले पिता
मान्दछु, मेरो। यो
शरीरको मातालाई मेरो माता मान्दछु र यो शरीरलाई शारीरिक जुन सुख हो जे–जेले प्रदान
गर्छ त्यसमा मैले सुख मानेको छु। तर जब हामी चिन्तन मनन गर्छौँ त्यसपछि यो
निश्चयमा पुग्छौँ कि वास्तवमा यो शरीर म होइन। म त एउटा चेतन नित्य तत्त्व हुँ,
आत्मा हुँ। त्यसपछि आत्माको जो पिता हुनुहुन्छ– भगवान्, उहाँलाई हामी बल्ल मेरो पिता मान्छौँ। आत्माको जो माता हुनुहुन्छ– भगवान्,
उहाँलाई बल्ल मेरो माता मान्छौं। त्यसैले त एउटा सबैले सुनेको श्लोक
छ–
त्वमेव माता च पिता त्वमेव त्वमेव सर्वं मम देव देव॥ नारायण हृदयम्
१०
‘नारायण हृदयम्’को मन्त्र हो यो। अर्थात्, उहाँ नै,
भगवान् नै माता हुनुहुन्छ। भगवान् नै पिता हुनुहुन्छ। भगवान् नै
सबथोक हुनुहुन्छ। यो शरीरको होइन, आत्माको। त्यसैले त्यो
चेतनाको स्तरमा नपुगेको कारणले गर्दा वर्तमान चेतनाको अवस्थामा आँफूलाई शरीर
मानेको भएर शरीरलाई जे जे विषयबाट सुख प्राप्त हुन्छ, ती
विषयमा आनन्द मानेको भएर र ती विषयहरूलाई प्रदान गर्ने सबैभन्दा शक्तिशाली साधन
पैसा भनेर जानेको भएर अनि पैसाप्रति हाम्रो आशक्ति हो। कुरा बुझ्नुभयो नि! र जब
हाम्रो यो जुन चेतनाको स्थितिमा बदलाव आउँछ, चाहे साधना गरेर
होस् या गुरुको कृपाले होस्, कुनै पनि उपायद्वारा यदि चेतनाको
स्तरमा परिवर्तन आउनसाथ फेरि हाम्रो प्रायोरिटि (प्राथमिकता) आफसेआफ चेन्ज
(परिवर्तन) हुन्छ।
तर वर्तमान जुन हाम्रो आम व्यक्तिको चेतना हो, त्यस अनुसार सुख संसारमा छ, संसारी
विषयमा छ। त्यो विषयलाई प्रदान गर्ने साधन पैसा भएको कारणले गर्दा व्यक्तिहरू पैसाको
निम्ति मरिहत्ते गर्छन्। एक अर्कालाई मार्न पनि तयार हुन्छन्। आफ्नो जति पनि
मान्यता छ, ती सबै मान्यतालाई तिलाञ्जलि पनि दिन्छन्,
पैसाको अगाडि नतमष्तक हुन्छन्। यो हामीले देखकै हो।
प्रस्तोता– यो सत्य हो अहिलेको समयमा।
स्वामीजी– सत्य हो।