प्रस्तोता–
हस। अब एउटा प्रश्न के। सनातन धर्म यहाँले उच्चारण गर्दै गर्दाखेरि धेरै व्यक्तिले
त बुझ्नुहुन्छ होला सनातन धर्मको विषयमा। जस्तै हाम्रो दर्शकहरूलाई, हामीलाई पनि हामीलाई सनातन धर्मको विषयमा थोरै भनिदिनुहोस् न।
स्वामीजी–
हेर्नुस्! सबैभन्दा पहिला त धर्मको बारेमा बुझ्नु जरुरी छ। धर्म केलाई भनिन्छ? वेदमा एउटा मन्त्र छ।–
वह्नेर्धर्मो
यथोष्णता। महोपनिषद् ४–९९
महोपनिषद्को
मन्त्र हो यो। अर्थात् आगोको धर्म हो– ताप दिनु, जलाउनु। यो आगोको धर्म ताप दिनु किन हो त? किनकि
चारवटा कारणले गर्दा।
पहिलो– यो सनातन हो।
आजभन्दा २०० बर्ष अगिदेखि आगोले ताप दिन थालेको हो, त्योभन्दा पहिला आगो तातो हुन्थेन। यस्तो त होइन नि त। अनादिकालदेखि आगोले
ताप नै दिन्छ। एक।
दोस्रो– अपरिवर्तनशील। आगोको धर्म
जुन ताप दिनु हो, यसलाई परिवर्तन गरेर अब चिसो दिने बनाउन त कसैले सक्दैन। त्यसैले पहिलो
सनातन, दोस्रो अपरिवर्तनशील।
र तेस्रो हो– स्वाभाविक। आगोले ताप
दिनको लागि बाहिरी कसैको प्रेरणा, इच्छा, शक्ति केही त चाहिँदैन। त्यो उसको स्वभाव नै हो।
चौंथो– सार्वत्रकिता। अर्थात्
सर्वत्र आगोले के गर्छ? ताप नै दिन्छ। चाहे त्यो
नेपालमा होस्, अमेरिकामा होस्, जहाँपनि आगोले ताप दिन्छ। त्यसैले कुनै पनि वस्तुको कुनै पनि एउटा चिज
धर्म हुनको निम्ति यी चारवटा शर्त पूरा हुनुपर्छ। जुन भर्खरै मैले दृष्टान्त दिएँ
आगोको, त्यसअनुसार ‘आगोको धर्म ताप’ यसकारण हामी भन्न
सक्छौँ किनकि चारवटा शर्त पूरा हुन्छ, त्यसैले।
त्यसैगरि
अब हाम्रो धर्म के हो त? यदि यस्तो चिज होस्–
सनातन होस्, अपरिवर्तनशील होस्, स्वाभाविक होस् र सर्वत्र त्यही होस्। र अब यो प्रश्नको उत्तर महाभारतमा
छ।
महाभारतको
जुन प्रसङ्ग हो, लगभग आजभन्दा पाँच हजार बर्ष अगिको प्रसङ्ग हो। प्रायः धेरैजसोले
सुन्नुभएकै छ, यो प्रसङ्ग। युधिष्ठिरजी र यक्षको बीचमा
वार्तालाप छ, महाभारतमा। जङ्गलमा जाँदाखेरि प्यास
लाग्छ। पालैपालो भाइहरूलाई पठाउनु हुन्छ। कोही पनि फर्केर आउँदैनन्। अन्त्यमा
युधिष्ठिरजी जानुहुन्छ र यक्षले त्यहाँ प्रश्नहरू सोध्नुहुन्छ। र एउटा प्रश्न
थियो–
किंस्विद्
धर्मे सनातनम्। महाभारत वनपर्व ३१३–६५
यो
वनपर्वको श्लोक हो, महाभारतको। अर्थात् सनातन धर्म के हो? अब उत्तर
दिनुभन्दा पहिला हामी गेस (अनुमान) गर्न सक्छौँ। कसैले भन्छ– अहिंसा नै सनातन जुन
धर्म हो। अहिंसा समान कुनै पनि धर्म छैन भन्छ। तर यो होइन। यदि अहिंसा नै परम धर्म
भएको भए संसारमा कहीँ पनि हिंसा हुदैनथ्यो। हैन र?
यदि सेवा नै परम धर्म भएको भए, आज व्यक्तिहरू आँफूलाई जन्म दिने बाबुआमालाई त हेला गरेर वृद्धाश्रम पठाउँदैछन्। त्यसैले स्वाभाविक धर्म त, हामी न सेवा देख्छौँ, न अहिंसा देख्छौँ। जुन स्वाभाविक होस्, अपरिवर्तनशील होस्, सनातन होस् यस्तो धर्म के हो त? भन्दा युधिष्ठिरजी महाराजले बताउनुभयो–
सनातनोऽमृतो
धर्मो। महाभारत वनपर्व ३१३–६६
अर्थात्
सनातन धर्म अमृत हो। अमृत भन्नाले? अमृतको अनेक अर्थ हुन
सक्छ। एउटा त अमृतको अर्थ दूध पनि हो। अर्को अमृतको अर्थ स्वर्गमा हुने अमृत हो, जसले मरेकाहरूलाई पनि जीवित गरिदिन्छ। र, अर्को
अमृतको अर्थ हो– आनन्द। र सनातन धर्म हो– आनन्द।
आनन्द चाहनु।
जुन मैले
अगि भूमिकामा पनि बताएँ, हामी सबै आनन्द चाहन्छौँ।
यसमा कुनै पनि अपवाद छैन। एरिस्टोटल भन्छन्–
For we choose happiness
for itself, and never with a view to anything further; whereas we choose honor,
pleasure, and intellect . . . because we believe that through them, we shall be
made happy. Aristotle
अर्थात्
हामी सुख, सुखकै निम्ति चाहन्छौँ। र सुखबाहेक कसैले केही चाहन्छु भन्छ भने त्यो पनि
सुखकै निम्ति चाहन्छ। जस्तै एउटा हामीले सराबीलाई सोध्यौँ, ‘‘तिमी किन पिउन चाहन्छौ?’’
‘‘सुखको
निम्ति।’’
‘‘धन किन
चाहन्छौ?’’
‘‘धन भयो
भने अनेक सामानहरू जोड्न सक्छु।’’
‘‘ती सामान
किन चाहन्छौ?’’
‘‘ती
सामानबाट मलाई सुख मिल्छ।’’
‘‘सुख किन
चाहन्छौ?’’
अब उत्तर
छैन। अर्थात् हरेक व्यक्ति कसैले नसिकाइकन नपढाइकन केवल आनन्द चाहन्छ।
त्यसैले
पहिलो यो जुन हाम्रो आनन्द चाहनु हो, ‘‘म आजभन्दा पाँच बर्ष
अगाडिदेखि आनन्द चाहन्थें, पाँच बर्षभन्दा पहिले चाहिँ
म दुख चाहन्थें।’’ यस्तो त होइन। अर्थात् अनादिकालदेखि प्रत्यक जीव आनन्द नै
चाहन्छ। त्यसैले पहिलो शर्तमा पास भयौँ हामी।
दोस्रो– अपरिवर्तनशील। र ‘‘तिमी
आनन्द चाहन्छौ। त्यो आनन्द चाहने जुन तिम्रो धर्म हो, त्यसलाई छोड्देऊ। अर्को धर्म अपनाऊ।’’ कसैले पनि परिवर्तन गर्न सक्दैन।
तेस्रो– स्वाभाविक। आनन्द
चाहनको लागि कसैले सिकाउनु पर्दैन नि। हामीलाई पनि हाम्रो बुबाआमाले सिकाउनु भएन–
‘‘अँ, छोरा! या छोरी! आनन्द चाहनुपर्छ, जीवनमा। फेरि
तैंले दुख चाहलास्।’’ कसैले पनि सिकाएनन्। तेस्रो।
चौँथो– सर्वत्र। चाहे
नेपाली होस्, अमेरिकन होस्, चोर होस्, पुलिस् होस्, विद्वान् होस्, मुर्ख होस्, धनी होस्, गरीब होस्, कुनै पनि वादलाई मान्ने व्यक्ति
होस्, सब त आनन्द नै चाहन्छन्।
त्यसैले सनातन धर्म भनेको आनन्द चाहनु हो। र कस्तो आनन्द चाहनु? त्यो अनन्त मात्राको सुख चाहनु, प्रतिक्षण बढ्दै जाने सुख चाहुन, सधैँ रहिरहने सुख चाहनु– यो सबैको स्वाभाविक, सनातन धर्म हो। अब यसमा अन्तर छ कि कोही केहीबाट आनन्द छ भन्ने ठानेर त्यसको निम्ति प्रयत्न गर्छ। अर्को व्यक्ति अर्कै चिजबाट आनन्द मिल्छ भन्ने ठानेर त्यतैतिर प्रयत्न गर्छ। यो अज्ञानता सबैमा छ। तर जुन धर्म हो, स्वाभाविक धर्म, त्यो सबैको एक मात्र धर्म हो– आनन्द चाहनु। यही सनातन धर्म हो।